पूर्व प्रधानमन्त्री भट्टराई दम्पती लाई छोरीको खेत रोप्न भ्याइनभ्याई


गोरखा खबर
  • आइतबार, असार १५ २०८२

  • गोरखाखबर(गोरखा,१५ असार) । गोरखा खोप्लाङ बेलबास । पूर्वप्रधानमन्त्री बावुराम भट्टराईको जन्मथलो । असार १५ अनि ट्याक्टरले हिल्याएर रोप्न ठिक्क पारेको बेलबास गाउँमुनिको बेलबासटार खेत । । पञ्चेबाजा सहित गाउँभरीमा मानिसहरु खेतको वरपर । पूर्व प्रधानमन्त्री भट्टराई घरि बाउसे त घरि रोपार । अनि वहाँही पत्नी हिसिला यमी कहिले बाजामा नाच्दै त कहिले खेत रोप्दै हुनुहुन्थ्यो । गोरखाको पालुङटार नगरपालिका वडा नं १ बेलबासटार स्थित छोरी मानुषी भट्टराईको नाममा रहेको खेतमा भट्टराई र हिसिला यमीले आइतवार अरु रोपारहरु संगै रोपाई यसरी धान रोप्नुभएको छ । मानुषीको नाममा रहेको ८ रोपनी क्षेत्रफलको खेतमा असार १५ को रोपाई गरिएको भए पनि वहाँ भने आउनुभएको थिएन ।

    रोपाई पछि पूर्व प्रधानमन्त्री भट्टराईले परम्परागत भन्दा कृषिमा आधुनिक प्रणाली अपनाएर उत्पादन बृद्धि गरेर आत्मनिर्भर बन्नुपर्ने प्रतिक्रिया दिनुभयो । खेत जोत्न ट्याक्टर र हाते ट्याक्टर प्रयोग गरिएको थियो भने रोपाईमा ९ जना रोपार खटिएको थियो । कृषि ज्ञान केन्द्र गोरखा समेत आयोजक रहेको उक्त कार्यक्रममा गण्डकी प्रदेशका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटा सहित कृषि ज्ञान केन्द्र गोरखाका प्रमुख प्रकाश बस्ताकोटी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना गोरखाका प्रमुख पूर्ण ढुंगाना लगायतका कर्मचारीहरुको समेत सहभागीता रहेको थियो ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार