गोरखाखबर (गोरखा,१० अश्विन) । गोरखाको गण्डकी गाउँपालिकाको प्रशासकीय कार्यालय ओखलडाँडामै राख्न सर्वोच्चले अल्पकालीन अन्तरिम आदेश दिएको छ । गत असोज ४ गते सर्वोच्च अदातले परमादेश सूचना जरी गर्दै यस अघिकै ठाउँबाट कार्यपालिका संचालन गर्न आदेश दिएको हो ।
बरिष्ठ अधिवक्ताहरु यदुनाथ खनाल र अधिवक्ता मनिषा वस्नेतले गरेको बहसमा ‘यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुन नपर्ने भए आधार कारण सहित यो आदेश प्राप्त भएको १५ दिनभित्र लिखितजवाफ पेश गर्नु’ भनी आदेश भएको छ ।
सर्वोच्चले असोज ३० गते छलफलका लागी झिकाउनु साथै उक्त मितिसम्म सो गाउँपालिकाको सेवा केन्द्र तोमन डाँडा क्षेत्र नसारी साविककै ठाउँमा राख्न आदेश भएको छ ।
स्थानीय तह लागु भएको पहिलो पाँच वर्षे कार्यकालभर विवादका कारण गाउँपालिकाको केन्द्र ओखलडाँडाबाट संचालन भएको थियो । यसबर्ष निर्वाचित गण्डकी गाउँपालिका अध्यक्ष दिपक तिमिल्सिनाले भने भदौ २२ गते ओखलडाँडाबाट गाउँपालिकाको प्रशासकीय काम गर्ने गरी कार्यालय तोमन डाँडामा सारेका थिए । राजमार्गबाट पनि नजिक पर्ने र यसअघिको कार्यालय भन्दा तोमनडाँडाको कार्यालय सबै वडाहरुबाट सुगम भएकाले स्थानान्तरण गरिएको उनले बताएका थिए ।
भवन निर्माणका लागि यथेष्ट बजेट प्राप्त भइरहे पनि स्थानको बिषयमा विवाद हुँदा बिगत पाँच बर्षदेखि कार्यालय भवन निर्माण हुन सकेको थिएन । विवादकै कारण भवन निर्माणका लागि आव्हान गरिएको टेण्डर पनि स्थगित गरिएको थियो ।