गोरखाखबर (काठमाडौं, ६ अश्विन) । तेस्रो गोरखकाली मेलामा उत्तरी गोरखामा उत्पादन भएको ‘चुमनुब्री स्याउ’ बिक्रीका लागि राखिएको छ । चुमनुब्री गाउँपालिका ४ पोरमा उत्पादित स्याउको स्वाद गोरखाबासीलाई चखाउन मेलामा ल्याइएको स्याउ व्यवसायी लाक्पाडुण्डुप लामाले जानकारी दिए ।
हेलिकोप्टरबाट ढुवानी गरेर तीनहजार केजी स्याउ मेलामा ल्याइएको लामाले बताए । मेलाको स्टलमा गोल्डेन डेलिसियस, गाला, किङ रेड डेलिसियस स्याउ राखिएको उनले बताए । प्रतिकिलो पाँच सय रुपैयामा बेच्ने गरिएको लामाले बताए । ‘चुमनुब्री स्याउ’ नाममा ब्राण्डिङ गरिएको स्थानीय अर्गानिक स्याउ प्रवद्र्धन गर्न र बजारीकरणका लागि गोरखा बजारमा ल्याइएको लामाले बताए ।
सडक सन्जालबाट बन्चित भएकाले नाम्रुङबाट तीनवटा हेलिकोप्टरमा स्याउ ढुवानी गरिएको उनको भनाइ छ । कैलाश, हेली एभरेष्ट र मनाङ एयरबाट स्याउ बोकेर ल्याएको हो ।
गोरखामा स्याउ फल्छ भनेर धेरैलाई थाहा नभएको र २७०० मिटर उचाइमा रहेको हिमाली चिसो हावामा फलेको स्याउको स्वाद गोरखाबासीलाई चखाउनका लागि हेली चार्टर गरेको सदरमुकाममा स्याउ ल्याएकोे उनले बताए । चुमनुब्रीको पोरमा फलेको स्याउ सतप्रतिशत अर्गानिक रहेको बताउदै जिल्लाबासीले आफ्नै जिल्लामै उत्पादन भएको स्याउको उपभोग गरिदिन समेत उनको आग्रह छ ।
चुमनुब्री ब्राण्डको स्याउ बगैँचामा थोक प्रतिकेजी रु २ सय ५० र र खुद्रा तीन सय ५० मा बेच्ने गरिएको छ ।
सो स्याउ काठमाडौमा भने प्रतिकेजी रु आठसयमा बेच्ने गरेको उनले बताए । लामाले चमनुब्री गाँपालिका–४ पोरमा विगत तीन वर्ष देखि लोकल स्याउ उत्पादन गर्दै आएका छन् । गोल्डेन, गाला, किङरेड डेलिसियस, रेड डेलिसियस र फुजी गरी पाँच प्रकारको स्याउ उत्पादन गर्दै आएका छन् । गण्डकी प्रदेश सरकारको कृषि मन्त्रालय र किसानको लागत साझेदारीमा इटलीबाट विरुवा ल्याएर नाम्रुङ(पोर)मा स्याउ खेती गरिएको हो ।
पहिलो वर्ष एक सय ५० रोपनी क्षेत्रफलमा ४ हजार ३ सय ७० स्याउको बोट रोपिएको थियो । सोहि वर्षबाट स्याउ उत्पादन हुन थालेको तर सुरुको वर्षमा फलेको सबै स्याउ नष्ट गरिएको उनले बताए ।
दोस्रो वर्षमा ८ हजार केजी फलेको उनले जानकारी दिए । सो वर्ष एक केजीलाई दुई सय ५० रुपैयाँको दरले बिक्री गरिएको थियो । एउटा बोटमा ४ केजीसम्म स्याउ फलेको र गत वर्ष दुई हजार केजी स्याउ काठमाडौमा लगेर बेचेको उनले बताए ।
स्याउ उत्पादन बढेसँगै यो वर्ष गोरखाबाट स्याउ बिक्री वितरण सुरु गरेको लामाले जानकारी दिए । अहिले एउटा बोटमा ५ केजीसम्म स्याउ फलेको छ । हाल उनीसँग ४ हजार तीन सय ७० वटा स्याउको बोट रहेको र यो वर्ष ती बोटबाट २१ हजार केजी स्याउ फल्ने अनुमान गरिएको छ ।
चुमनुब्री स्याउ ढुवानी गरेर काठमाडौं नलगेपनि बजारको समस्या नरहेको व्यवसायी लामाले बताए । स्थानीय स्तरमा उत्पादित स्याउबाट वाइन, जुस, रक्सी, केक, जेली, जाम गरी १० प्रकारको खाद्यपदार्थ बनाउने गरिएको उनले बताए । चुमनुब्रीमा रहेको आप्mनै होटलमा सिजनका बेलामा स्याउबाट बनेको केक र वाइनको राम्रो व्यापार हुने गरेको उनले बताए ।
प्रति ५० ग्रामको तीन सय ५० रुपैयाका दरमा बेच्ने गरेको लामाले बताए । हाल चुमनुब्रीको पोरमा उत्पादन भएको स्याउको अर्गानिक सटिफाइट नभएकाले विदेश लैजान नपाएको र एक वर्षभित्रमा अर्गानिक प्रमाणिकरणका लागि प्रक्रिया पूरा गरी विदेश समेत निर्यात गर्ने तयारीमा रहेको उनले जानकारी दिए ।
नेपालमा कास्मीर, जापान, अमेरिका, स्विटजयल्याड लगायका देशबाट महंगो दररेटमा स्याउ ल्याउने गरेको बताउदै स्थानीय उत्पादनलाई यही बजार सिर्जना गर्नका लागि भाटभटेनीसँग सम्झौता गरी विक्री वितरण गर्ने तयारी भइरहेको उनले बताए ।
एक सय ५० रोपनीबाट क्षेत्रफलमा उत्पादित स्याउ बोटलाई यो वर्ष थप विस्तार गरेको छ । उनले यो वर्ष ८ हजार नयाँ स्याउका बेर्ना रोपेका छन् । योसँगै तीन सय रोपनी क्षेत्रफलमा स्याउ खेती गरिएको छ । उनले स्याउ खेती सुरु गरेपछि अन्य चारजना कृषकले करिब ५ हजार स्याउको विरुवा रोपेका छन् । उनीहरु अर्गानिक रुपमा प्राङगारिक मलको प्रयोग गरी लोकल स्याउ फलाएमा बजारको जिम्मा सबै आफुले लिने उनले बताए ।
नयाँ कृषकलाई फिल्डमै प्राक्टिकल गर्नका लागि आफनो स्याउ फर्म उपलब्ध गराइने उनले जानकारी दिए । स्याउ खेतीको अवलोकन तथा तालिम, प्रशिक्षणको अवधारणा अनुसार पूर्वाधार निर्माण गरिएको उनको भनाइ छ ।