गोरखाखबर (काठमाडौँ, १ अश्विन)।अछाममा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ जना पुगेको छ । अछामको कमलबजार नगरपालिका, ढकारी र तुर्माखाँद गाउँपालिकामा गरी अहिलेसम्म ९ जनाको मृत्यु भएको हो । पहिरोमा परेर २० जना घाइते भएको प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीले जानकारी दिए ।
उनका अनुसार कमलबजार नगरपालिका वडा नं ६ को ठाँटीकाँधमा गएको पहिरोमा परी ४ जनाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन् । घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको जानकारी आएको उनले बताए ।
त्यस्तै, कमलबजारकै वडा नं ८ मा चाउरे दमाइको घर पुरिँदा परिवारका ५ जनाको मृत्यु भएको जानकारी आएको पनि उनले बताए ।
त्यस्तै, ढकारी गाउँपालिकामा एक घर पुरिएर तीन घाइते भएको र एक जना पुरिएको जानकारी पछि खोजी कार्य जारी रहेको उनले बताए ।
तुर्माखाद गाउँपालिकामा पनि ९ जना बेपत्ता भएको जानकारी आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको प्रजिअ मरासिनीले बताए ।