गोरखाखबर (गोरखा, २७ भदौ) । रक्सिले मात्तिएर बालिका बलात्कार गरेको आरोपमा नेपाली सेनाका अमल्दार पक्राउ परेका छन् । बाग्लुङ गलकोट ११ घर भई हाल नेपाली सेनाको सडक निर्माण कार्यदलमा कार्यरत अमल्दार मनबहादुर रानालाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए ।
रानामाथि चुमनुब्री ३ पामो(सिर्दिबास)की १४ बर्षीया बालिका बलात्कार गरेको आरोप छ ।
गत शनिबार अपरान्ह साँढे पाँचबजे बारीमा तरकारी टिप्न गएकी बालिकामाथि बलात्कार गरेको घटनास्थलमै स्थानीयले अमल्दार रानालाई नियन्त्रणमा लिई पहरी चौकीमा जिम्मा लगाएका थिए ।
प्रत्यक्षदर्शी एक महिलाले घटनास्थलमा पुगेर गुहार लगाई गाउँलेलाई जम्मा गरेकी र गाउलेले घेरा हाली प्रहरीको जिम्मा लगाएको गाउँपालिकाकी उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन्। पीडित बालिकाका अनुसार रानाको मुखमा रक्सी गन्हाईरहेको थियो ।
गएराती जिल्ला प्रहरी कार्यालयमा ल्याइएको र अहिले जाहेरी दिने तयारी भइरहेको पिडितका दाजुले जानकारी दिएका छन् ।
बिगत १७ बर्षदेखि नेपाली सेनामा कार्यरत राना अहिले बेनिघाट आरुघाट लार्के सडक निर्माण कार्यदलमा कार्यरत छन् ।