गोरखाखबर (गोरखा, २४ भदौ) । शहीद लखन गाउँपालिकामा मातहतका जनप्रतिनिधि तथा कर्मचारीसंग कार्य सम्पादन करार सम्झौता गरिएको छ । जनप्रतिनिधि र कर्मचारीहरुलाई आफ्नो काम प्रति जिम्मेवार, जवाफदेही र उत्तरदायी बनाउनका लागि कार्य सम्पादन करार सम्झौता गरिएको गाउँपालिका अध्यक्ष रमेशबाबु थापामगरले जानकारी दिनुभयो ।
‘हामीले पालिका अध्यक्षले उपाध्यक्षसंग र उपाध्यक्षले गाउँपालिका अध्यक्षसंग कार्य सम्पादन करार सम्झौतामा हस्ताक्षर गरेका छौ, उहाँले भन्नुभयो, त्यस बाहेक प्रमुख प्रशासकिय अधिकृत र वडाध्यक्षहरुले पालिका अध्यक्षसंग कार्य सम्पादन करार सम्झौतामा हस्ताक्षर गरेका छन् ।
अध्यक्ष थापामगरले पालिका भित्रका सवै वडाका वडासचिवहरुले समेत सम्बन्धित वडाका वडाध्यक्षसंग कार्य सम्पादन करार सम्झौता गर्ने बताउनुभयो । ‘अन्य कर्मचारीको हक पनि करार सम्झौता गर्नुपर्ने व्यवस्था गाउँपालिकाले गरेको छ, उहाँले भन्नुभयो, बाँकी रहेका कर्मचारीमा शाखा प्रमुखहरुले प्रमुख प्रशासकिय अधिकृतसंग सम्झौता गनुपर्ने छ भने सम्बन्धित शाखाका कर्मचारीले शाखा प्रमुखसंग कार्य सम्पादन करार सम्झौता गर्नुपर्नेछ ।’
गाउँपालिकाले पालिका भित्र सुशासन कायम गर्न र कार्य सम्पादनको स्तरवृद्धि तथा जवाफदेहिता सृजना बिशेष महत्व राख्ने अध्यक्ष थापामगरको भनाई छ । उत्तरदायित्व र जिम्मेवारी बोधका लागि शहीद लखनमा जनप्रतिनिधि र कर्मचारीलाई जवाफेदही बनाउन कार्य सम्पादन करार सम्झौताले बिशेष महत्व राख्ने उहाँले बताउनुभयो ।
गाउँपालिकाले सुशासन, व्यवस्थापन तथा सञ्चालन ऐन, २०६४ तथा नियमावली २०६५ बमोजिम मातहतका जनप्रतिनिधि तथा कर्मचारीहरुसंग कार्यसम्पादन करार सम्झौता पत्रमा हस्ताक्षर जानकारी दिनुभयो ।
‘स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा सार्वजनिक पदाधिकारीहरुको कार्यसम्पादन करार निर्देशिका, २०७९ बमोजिक प्राप्त काम कर्तव्य र अधिकार सवैले पुरा गर्नुपर्छ उहाँले भन्नुभयो, यो सम्झौता सम्बन्धित व्यक्तिका लागि एउटा प्रतिबद्धता पनि हो, यसले आफुले गर्नुपर्ने काममा सधै व्यक्तिलाई सर्तक समेत बनाइराख्छ ।’