दोस्रो लिगलिग पालुङटार महोत्सव असोज ३ देखि ११ गतेसम्म हुने


गोरखा खबर
  • शुक्रबार, भाद्र १७ २०७९

  • गोरखाखबर (गोरखा,१७ भदौ) । गोरखाको पालुङटारमा दोस्रो लिगलिग पालुङटार महोत्सव हुने भएको छ । लिगलिग पालुङटार उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुन लागेको संघले बिहिवार पालुङटारमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

    दशैलाई केन्द्रित गरेर साना व्यवसायीहरुको प्रोत्साहन गर्नका लागि महोत्सव आयोजना गरिएको आयोजकले जनाएको छ । आगामी असोज ३ देखि ११ गतेसम्म हुने महोत्सवले लिगलिगकोट र पालुङटारलाई चिनाउने र पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न सहयोग पुग्ने संघका अध्यक्ष मानबहादुर आलेले बताए ।

    पालुङटारको प्रचार र प्रवद्र्धनमा समेत महोत्सवले धेरै सहयोग पु¥याउने संघको अपेक्षा छ । महोत्सवमा करिब नौलाख खर्च हुने र ५० लाखको कारोबार हुने उनले बताए । महोत्सवमा कृषि उत्पादन लगायतका स्टलहरु निशुल्क उपलब्ध गराइने आयोजकले जनाएको छ । कृषि उत्पादनका स्टलहरुमा स्थानीय स्तरमा उत्पादित बस्तुहरु, खसी, च्याङग्रा, बोका, तरकारी लगायतका बस्तुहरु राखिने अध्यक्ष आलेले जानकारी दिए । महोत्सवमा राष्टिूय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहनेछ । बालबालिकाहरुका लागि बालउद्यान पनि राखिने आयोजकले जनाएको छ ।

    महोत्सव अवलोकनका लागि सर्वसाधरणलाई रु एकसय र विद्यार्थीहरुलाई रु ५० कोे टिकटको व्यवस्था गरिएको छ । महोत्सव अवधिभर करिब ७० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको उनले जानकारी दिए । मेलाबाट बचत भएको रकमले संघ भवन निर्माणका लागि जग्गा खरिद गर्ने योजना रहेको अध्यक्ष मानबहादुर आलेले बताए ।

    छिमेकी जिल्ला तनहुँ, लमजुङ र गोरखाको पालुङटार, सिरानचोक, अजिरकोट लगायतका स्थानबाट मेला अवलोकनकर्ताहरु आउने बताइएको छ । विगतका तीन वर्षमा कोभिडका कारण महोत्सव संचालन गर्न नसकिएको र अहिले कोभिड महामारीको अवस्था सामान्य भएसँगै मेला आयोजना गरिएको उनको भनाइ छ ।

    लिगलिगकोट पालुङटार उद्योग वाणिज्य संघ, गण्डकी प्रदेश उद्योण वाणिज्य महासंघ र पर्यटन बोर्डको सहयोगमा महोत्सव आयोजना गर्न लागेको आयोजक संस्थाले जनाएको छ । हाल महोत्सवलाई भव्यताका साथ सम्पन्न गर्न २४ वटा उपसमिति वनाएर महोत्सव तयारीलाई तिव्रता दिएको अध्यक्ष आलेले जानकारी दिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार