गोरखासहित गण्डकी प्रदेश भरी भोलि कर बढाएको बिरोधमा यातायात बन्द


गोरखा खबर
  • शनिबार, साउन २१ २०७९

  • गोरखाखबर (गोरखा,२१ साउन) ।  सरकारले कर बढाएको बिरोधमा गोरखा सहित गण्डकी प्रदेशभर आईतवारदेखि यातायात बन्द हुने भएको छ । गोरखा भएर अन्यत्र जाने र गोरखा भित्रने कुनैपनि सवारी साधन नचल्ने यातायात ब्यवशायीले बताएका छन् ।

    गण्डकी प्रदेश सरकारले सवारी साधन नबिकरणमा दुई सय प्रतिशत जरिवाना बढाएको भन्दै ब्यवशायीले उक्त निर्णय फिर्ता लिन माग गर्दै बिरोध जनाएका छन् ।

    गोरखाबाट छुट्ने र गोरखा भित्रने सबै गाडी बन्द हुने, काउन्टरहरु पनि नखुल्ने दरौँदी यातायात सेवा प्रालीका अध्यक्ष नारायण खत्रीले बताए । ‘आईतवार यातायात बन्द गर्ने निर्णय भएको छ, त्यो पछि थप कार्यक्रम आउनेछ ।’
    पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनीका गोरखाले पनि आफु मातहतका सबै गाडी बन्द गर्ने गोरखा शाखा प्रमुख प्रविण बस्नेतले बताए । ‘यातायात महासंघको निर्णय अनुसार हाम्रा सबै गाडी बन्द हुन्छन्’ उनले भने ।

    यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेश समितिले सवारी कर विरुद्ध कडा आन्दोलन शुरु गरेको हो । आन्दोलन स्वरुप महासंघले प्रदेशमा गाडी सञ्चालन नगर्ने जनाएको छ । यातायात करमा भएको व्यापक वृद्धिको विरोध गर्दै समितिले सार्वजनिक सवारी नचलाउने जनाएको छ । महासंघले आफ्नो आन्दोलनमा निजी सवारी धनीसहित आम नागरिकको पनि समर्थन मागेको छ ।
    महासंघले विज्ञप्तिमार्फत सरकारले संघीयताको मर्म विरुद्ध मनोमानी ढंगले बढाएको आरोप पनि लगाएको छ । कोरोना महामारीबाट थला परेका व्यवसायीलाई राहत दिनुपर्नेमा उल्टै अन्यायपूर्ण तरिकाले कर वृद्धि गरेको र त्यसकै विरोधस्वरुप आन्दोलन गर्न बाध्य भएको महासंघका गण्डकी प्रदेश संयोजक केदार पौड्यालले बताए ।

    विज्ञप्तिमा भनिएको छ, ‘सरकारबाट कुनै पनि बेला कुनै पनि पक्षलाई करको अव्यवहारिक बोझ बोक्न बाध्य बनाउन सक्ने देखिएको हुँदा यस आन्दोलनमा निजी तथा पर्यटन सवारी साधनहरू पनि घर ग्यारेजमा राखी अव्यवहारिक करको विरुद्धमा उभिन सहयोग गरिदिनुहुन अनुरोध गर्दछौं ।’

    प्रतिक्रिया

    सम्बन्धित समाचार