गोरखाखबर(गोरखा,६ साउन )। हेलिकप्टर बाट उद्दार गर्न कागजी प्रक्रिया मिलाउँदैमा ढिलो भए पछि गोरखाको दुर्गम चुमनुब्री गाउँपालिकामा समयमा उपचार नपाएर शुक्रवार एक बिरामीको मृत्यु भएको छ । बिहीवार साँझ देखि मुटु दुःखेर बिरामी परेको चुमनुब्री वडा नं ६ चुम्चेतकी २१ वर्षीया मिङ्गमा चेम्जोङ्गको मृत्यु भएको धावा ग्याल्जेनले जानकारी दिए । प्रशासनको सिफारिस लिएर मन्त्रालयको कागज मिलाउँदैमा समय बितेको र सिम्रिक एयर को हेलिकप्टर काठमाण्डौं उड्न लाग्दा बिरामीको मृत्यु भएको खबर पाएको ग्याल्जेनले बताए । निषेधित क्षेत्रका रुपमा रहेको चुमनुब्री गाउँपालिकामा हेलिकप्टर उडान गर्न जिल्ला प्रशासन कार्यालयको सिफारिसमा गृह र उड्यान मन्त्रालयको अनुमति चाहिन्छ ।