गोरखाखबर(गोरखा,४ असार) । नागरिकको सबै नजिकको सरकार स्थानीय तहमा दोस्रो कार्यकालका लागि समेत जनप्रतिनिधि निर्वाचित भइसकेका छन । संघीयताको स्वरुप निर्धारणका क्रममा भौगोलिक सीमाङ्कन र नामाकरण त भयो । तर गोरखाको विकट चुमनुब्री गाउँपालिकावासीले अझै संघीयताको अनुभव गर्न पाएका छैनन ।संघीयताको संरचना निर्माणका क्रममा ७ वटा साविक सिर्दीवास, छेकम्पार, चुम्चेत, विही, प्रोक, ल्हो र सामागाउँ गाविस मिलाएर गोरखाको चुमनुब्री गाउँपालिका बन्यो । चिनको सीमाना संग जोडिएको यो गाउँपालिकामा अहिले सम्म सडक सञ्जाल पुगेको छैन । पहिरो र ढुङ्गो खस्ने साँघुरो भिरको बाटो हिडनु र खच्चडमा दैनिक उपभोग्य बस्तु बोकाएर खानु बाहेक उनीहरु संग अरु विकल्प छैन । भएको सीमित स्वास्थ्य चौकीमा सामान्य उपचार गरेर थप उपचारका लागि ऋण खोजेर हेलिकप्टर बाट ज्यान बचाउन शहर लैजानुपर्ने बाध्यता रहेको प्रोकका नुर्बु साम्दु लामा बताउँछन ।चुमनुब्रीमा २ वटा माध्यमिक बाहेक आधारभूत विद्यालय मात्र रहेको छ । कतिपय वडाबाट गाउँपालिकाको केन्द्र सम्म आइपुग्न पनि दुइदिनको बाटो हिड्नुपर्छ । भौगोलिक विकटता लगायतका विविध कारणले चुमनुब्रीका बासिन्दा लाई संघीयताको अनुभव दिलाउन नसकेको चुमनुब्री वडा नं १ का निवर्तमान वडाध्यक्ष बिर बहादुर लामा बताउँछन । एकहजार ६ सय ४८ दशलव ५ वर्ग किलोमिटर क्षेत्रफल ओगटेको चुमनुब्री गाउँपालिकाको कूल जनसंख्या ६ हजार ७ सय ८९ जना रहेको छ ।