गोरखाखबर(गोरखा, ७ असोज) । गोरखाको मिरकोटको लाजिकोटमा रहेको ४ सय बर्ष भन्दा पुराना पुरातात्विक तथा धार्मिक विशेश्वर महादेव मन्दिर संरक्षणको अभावमा जीर्ण छ । भूकम्पले समेत धराप बनेको यो मन्दिरमा जोखिम लिएर दैनिक पुजा गर्नुपरेको पुजारी छबिलाल तिवारी बताउँछन ।पालुङटार नगरपालिका वडा नं १० लाजिकोटमा रहेको यो विशेश्वर महादेव मन्दिर गोरखा राज्यको स्थापना पछि वि.सं.१६६८ मा बनेको मानिन्छ । विशेश्वर महादेव निजी गुठी अन्तर्गत यस मन्दिरको स्वामित्वमा करिब ५ सय रोपनी जग्गा रहेको छ । अहिले यो गुठी तत्कालिन शासक बाट लालमोहर पाएका महन्थका सन्तति सुरेश गिरीको अधिकारमा छ । वि..सं.२०३५ सालमा यस विशेश्वर मन्दिमा रहेको महादेवको शिलाको मूर्ति, शंख र घण्टी चोरी भए पछि मन्दिर संग सम्वन्धित धेरै ऐतिहासिक तथ्य पनि हराएको स्थानीयको भनाई छ ।