गोरखाखबर(गोरखा, १३ साउन ) । आमाको मृत्यु भए पछि गोरखाको देउराली पुरनडिहीमा ३ छोरीहरुले काजकिरिया गरेका छन । । कोरोना संक्रमणका कारण गत असार ६ गते उपचारको क्रममा ज्यान गुमाएकी गोरखा नगरपालिका वडा नं १३ पुरनडिहीकी ४३ वर्षिया इन्दिरादेवी नरालकी ३ छोरीहरु वर्ष १९ की अर्चना, वर्ष १७ की अर्पणा र वर्ष १४ की आशिका नरालले आमाको काजकिरिया गरेका हुन । जेठी छोरी अर्चना, माहिली अर्पणाले केशमुण्डन गरेर र आमाकै इच्छा अनुसार कान्छी आशिकाले केश मुण्डन नगरी सेतो कपडा लगाएर आमाको काजकिरियाको कर्म गरिरहेका छन ।

आमाबावु सहित परिवारका ५ जना नै कोरोना संक्रमित भए । संक्रमित आमा इन्दिरादेवी र बावु गणेश प्रसाद नरालको स्वास्थ्य अवस्था जटिल बने पछि प्रहरी अस्पताल काठमाण्डौमा भेन्टीलेटरमा राखेर उपचारको क्रममा आमाको निधन भयो । त्यतिबेला बावुको अवस्था पनि चिन्ताजनक भएकोले उनलाई आमाको निधन भएको कुरा साउन ३ गते मात्र जानकारी दिइएको थियो । आमा बावुले छोरछोरीको विभेद नगरी हुर्काएकोले आफूहरुले पनि सन्तानको रुपमा बावुआमा लाई छोरा नभएको महसुस कहिले हुन नदिने प्रणका साथ दिदीबहिनीले यो निर्णय गरेको इन्दिरादेवीका जेठी छोरी अर्जना नराल बताउँछिन । उनी भन्छिन–“हामी दिदी बहिनीले सन्तानको कर्तव्य पूरा गरेका हौं । कसैलाई देखाउन वा भाइरल हुनका लागि यो काम गरिरहेका छैनौं ।”गणेश प्रसाद नरालका ३ छोरीहरु जेठी अर्चना स्नातक, माहिली अर्पणा कक्षा १२ र कान्छी आशिका कक्षा १० अध्ययनरत छिन । तीन दिदीबहिनी यो साहसिक कदम लाई पुरोहित रामेश्वर खनाल र गाउँलेहरुले समेत साथ दिएका छन ।