गोरखाखबर(गोरखा, २४ असार) । राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष किरण पौडेलले देश लाई अस्थिरता तर्फ धकेल्ने सदियौं देखि चल्दै आएको अन्तराष्ट्रिय मिसन विरुद्ध उत्रन युवाहरु लाई आह्वान गरेका छन । गोरखा दरबार परिसरमा भएको वृक्षारोपण कार्यक्रम पछि बोल्दै अध्यक्ष पौडेलले पछिल्लो समय अदालतले आफ्नो क्षेत्राधिकार भन्दा बाहिरको विषयमा निर्णय गर्न थालेकोले पनि राष्ट्रिय तथा अन्तराष्ट्रिय मिसनहरु राज्यका अङ्गहरु भित्रै प्रवेश गरेको अनुभूति भएको बताए । संरक्षण प्रकृतिको, सुरक्षा सन्ततिको भन्ने मूल नाराका साथ गत असार १८ बाट राष्ट्रिय युवा संघ नेपालले शुरु गरेको वृहत् राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८ का क्रममा गोरखा दरबार परिसरमा पनि बिहीवार वृक्षारोपण कार्यक्रमको आयोजना गरेको हो । संघका उपाध्यक्ष सन्जिब झा, गण्डकी प्रदेश प्रमुख महेन्द्र गुरुङ, स्थायी कमिटी सदस्य सम्राट गौचनको उपस्थिती रहेको उक्त वृक्षारोपण कार्यक्रममा संघका गोरखा जिल्लाका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो । वृहत् राष्ट्रिय वृक्षारोपण कार्यक्रम २०७८ साउन ७ गते सकिने युवा संघ नेपालले जानकारी दिएको छ ।