गोरखाखबर(काठमाण्डौ, २१ असार) । दक्षिण एशियामा कुल सङ्क्रमित र कुल मृत्यु हुने सङ्ख्याका हिसाबले नेपाल चौथो प्रभावित मुलुक बनेको छ।सङ्ख्यात्मक हिसाबले प्रभावित हुनेमा एक नम्बरमा भारत, दोस्रोमा पाकिस्तान, तेस्रोमा बाङ्लादेश र चौथोमा नेपाल परेको छ।औपचारिक रूपमा पुष्टि भएर जोन्स हप्किन्स विश्वविद्यालयले राखेको तथ्याङ्कका आधारमा भारतमा कुल जनसङ्ख्याको २.२ प्रतिशत सङ्क्रमित भएका छन् भने त्यसकै हाराहारीमा नेपालमा कुल जनसङ्ख्याको २.१ प्रतिशत मानिस सङ्क्रमित भएका छन्। जोन्स हप्किन्स विश्वविद्यालयका पछिल्लो तथ्याङ्क अनुसार सङ्ख्यात्मक हिसाबले भारत कोभिडबाट सबभन्दा बढी प्रभावित मुलुक हो, त्यहाँ ३,०५,८५,२२९ जना कुल सङ्क्रमित छन् भने ४०२७२८ जनाको कोभिडका कारण ज्यान गएको छ। जोन्स हप्किन्सकै तथ्याङ्क अनुसार नेपालमा ६,४४,६२२ जना सङ्क्रमित भएका छन् भने हालसम्म ९,२०० जनाको मृत्यु भइसकेको बिबिसीले जनाएको छ ।