गोरखाखबर(गोरखा, १२ असार ) । गोरखा जिल्लामा कोरोना भाइरस विरुद्धको पहिलो डोज भ्याक्सिन लगाउनेको संख्या २२ हजार ९ सय २५ जना पुगेको छ । तर विगत ३७ वर्षदेखि आयुर्वेदिक औषधि उत्पादक गोरखा सदरमुकाममा अवस्थित गोरखा आयुर्वेद कम्पनीमा कार्यरत कर्मचारी तथा मजदुरहरु नै कोरोना विरुद्धको भ्याक्सिन बाट बञ्चित भएका छन । कोरोना संक्रमण रोकथाममा प्रयोग हुने रोग प्रतिरोधात्मक औषधी समेत उत्पादन गर्दै आएको र लकडाउनमा समेत सुचारु यस कम्पनीमा कार्यरत ३४ जनाले अझै कोरोना विरुद्ध खोप लगाउन पाएका छैनन । स्वास्थ्य कार्यालय र स्थानीय तहमा बारम्वार अनुरोध गर्दा पनि खोप लगाउन नपाएको गोरखा आयुर्वेद कम्पनीका प्रमुख अर्जुन अर्यालले गुनासो गरे ।विभिन्न चरणमा सञ्चालित खोप अभियान सञ्चालन गरिएको भएता पनि पछिल्लो समयमा मात्र गोरखा आयुर्वेद कम्पनीका कर्मचारी छुटेको जानकारी आएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ । गोरखा आयुर्वेद कम्पनीले १ सय १० प्रकारका औषधीहरु उत्पादन गरेर देश विदेशमा विक्री गर्दै आएको छ । अहिले सम्म कोभिड शिल्ड पहिलो डोज लगाएका १९ हजार ८ सय ३१ जना मध्ये गोरखा जिल्लामा दोस्रो डोज लगाउनेको संख्या ३ हजार ८ सय ९२ रहेको छ । त्यस्तै भेरोसिल खोपको पहिलो डोज लगाउनेको संख्या ३ हजार ९४ रहेको छ । खोपका म्यादका कारण प्रदेशले बाँकी भएको खोप फिर्ता मागे पछि गत जेठ २५ गते गोरखा बाट २ सय ८० डोज कोभिडशिल्ड खोप गण्डकी प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रमा फिर्ता गरेको छ ।