गोरखाखबर(गोरखा,२९ जेठ) । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली काँग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन्। प्रदेश प्रमुख सीताकुमारी पौडेलले शनिबार संविधानको धारा १६८ (५) अनुसार पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेकी हुन्। काँग्रेस संसदीय दलका नेतासमेत रहेका पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्ति गरियोस भन्दै गण्डकी प्रदेशका ३१ सांसदसहित प्रदेश प्रमुखसमक्ष दाबी पेश गरेका थिए।
को हुन पोखरेल ?
७१ वर्षीय कृष्णचन्द्र नोपली पोखरेल पञ्चायतकालदेखि सक्रिय राजनीतिमा छन् । २००६ साल १३ मंसिरमा तनहुँमा जन्मिएका पोखरेलका बुबा प्रजातन्त्र सेनानी हुन् ।चार भाइमध्ये नेपाली माइलो हुन् । उनका दाइ रामचन्द्र पोखरेल कांग्रेस केन्द्रीय कार्यालयमा मुख्य सचिव भएका थिए । राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष जगदीशचन्द्र पोखरेल नेपालीका भाइ हुन् । उनी २२ वर्षको उमेरमा नेपाली कांग्रेसबाट राजनीतिमा पाइला टेके ।यसअघि एक कार्यकाल उनी कांग्रेसको केन्द्रीय सदस्य भएरसमेत काम गरेका छन् । १३ औं महाधिवेशनमा भने केन्द्रीय सदस्यमा नेपाली पराजित हुन पुगे ।आन्दोलनमा उनी ५–६ पटक जेल पनि परे । भारतको दरभंगाबाट मानविकी र त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातक गरेका छन् । २०४८ सालपछि उनी लगातार चार कार्यकाल कांग्रेस नवलपरासीको सभापति भएका थिए । कांग्रेसको १२ औं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बने । नेपाली कांग्रेसको गण्डकी संसदीय दलका पोखरेल नवलपरासी पूर्व (क)बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।२०७४ सालको प्रदेश सभा निर्वाचनमा माओवादीका उम्मेदवार सूर्यप्रसाद न्यौपानेलाई ३ सय ८२ मतल पराजित भई पोखरेल गण्डकी प्रदेशसभामा निर्वाचित बनेका थिए । २०७० सालको प्रतिनिधिसभा चुनावमा नवलपरासी क्षेत्र नं। ३ बाट चुनाव लडेका उनी २ सय २५ मतले हारेका थिए ।