बारपाकमा संक्रमण बढ्यो, दुइसातामा १२ जनाको मृत्यु


गोरखा खबर
  • बिहिबार, जेष्ठ १३ २०७८

  • गोरखाखबर(गोरखा,१३ जेठ) । गोरखाको बारपाकमा कोरोनाको लक्षण संग मिल्दाजुल्दा संक्रमण बढेको छ । संक्रमणकै कारण दुईसाता यता १२ जनाको मृत्यु भइसकेको छ । बारपाक सुलिकोट गाउँपालिका वडा नं १ र २ मा देखिएको संक्रमणबाट बुधवार मात्र ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७५, ७८ वर्षका पुरुष र ८० वर्षका महिला रहेका छन । तर दुइसाता यता मृत्यु भएका १२ जना मध्ये २ जनाको पिसिआर र १ जनाको एन्टीजेन परिक्षणमा कोरोना संक्रमण पुष्टि भएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । एकैठाउँमा बाक्लो बस्ती रहेको बारपाकका ५ सय जना भन्दा बढी स्थानीयमा अहिले ज्वरो, रुघाखोकी, सासफेर्न गाह्रो हुने जस्ता लक्षण देखिएको तर जनचेतना अभावका कारण अधिकांशले परिक्षण गराउन नमान्दा समस्या भएको बारपाक सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु भट्टले बताए । अध्यक्ष भट्टले बारपाकको अवस्था स्थानीय तहको काबु भन्दा बाहिर गइसकेकोले सहयोगका लागि प्रदेश र संघीय सरकार संग आग्रह समेत गरे । कोरोना संक्रमण बढे पछि अहिले बारपाकमा गण्डकी प्रदेश, जिल्ला र गाउँपालिकाका गरी ३ वटा स्वास्थ्यकर्मीको टोली पठाउने तयारी गरेको छ । स्वास्थ्यकर्मीको टोलीले काम थाले पछि आवश्यकताको आधारमा थप निर्णयहरु गरिने जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(डिसिएमसीसी)संयोजक समेत रहेका गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।बारपाक सुलिकोट गाउँपालिका वडा नं १ र २ मा गरी एकै ठाउँमा झुरुप्प रहेको बाक्लो बस्तीमा करिब १३ सय भन्दा बढी घरधुरी रहेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार