गोरखाखबर(गोरखा, ५ जेठ) । गण्डकी प्रदेशका सांसद रामशरण बस्नेत पुनः भौत्तिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका छन । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बुधवार मन्त्रिपरिषद् बिस्तार गरेर ६ सदस्यीय बनाउने क्रममा यसअघि नै भौत्तिक पूर्वाधार विकास मन्त्री रहेका बस्नेत लाई पुनः मन्त्री नियुक्त गरेका हुन । अर्थमन्त्रीमा किरण गुरुङ, भौतिक पूर्वाधार मन्त्रीमा रामशरण बस्नेत, पर्यटन मन्त्रीमा विकास लम्साल, सामाजिक विकास मन्त्रीमा नरदेवी पुन र युवा तथा खेलकुद मन्त्रीमा राजीव गुरुङले नियुक्ति पाएका छन् । यस अघि भौत्तिक पूर्वाधार विकास मन्त्री हुदा बस्नेतको पहिलो कार्यकालमा गोरखा सहित गण्डकी प्रदेशका जिल्लाहरुमा सडक, पुल, खानेपानी र सिंचाई लगायतका विकास आयोजनामा प्रगतिको हिसाबले निकै उपलब्धीमूलक मानिन्छ ।
मन्त्री बस्नेतको व्यक्तिगत विवरण :
बस्नेत गोरखा क्षेत्र नम्बर १ को ‘ख’ प्रदेसबाट निर्वाचित सांसद हुन् । यस अघि प्रदेश सरकारका प्रवक्ता समेत रहेका उनले केही समय उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री,आन्तरिक मामिला तथा कानुन मन्त्रालयको जिम्मेवारी पनि सम्हालिसकेका छन । । गोरखा नगरपालिका वडा नं ३ नारेश्वर निवासी बस्नेत २०४९ र २०५४ साल गरी दुई पटक नारेश्वरको गाविस अध्यक्षमा निर्वाचित भएका थिए ।२०५५ सालमा जिल्ला विकास समितीको सभापतिका उम्मेदवार बनेका बस्नेत २०५६ र २०७० सालमा सभाषदका एमालेका तर्फबाट क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका थिए । २०५२ मा एमाले पार्टीको गोरखा जिल्ला कमिटी सदस्य, उप–सचिव, सचिव हुदै २०६६ मा पहिलो पटक जिल्ला अध्यक्ष बनेका थिए । त्यस्तै बस्नेत २०६९ मा सर्वसमत रुपमा जिल्ला अध्यक्षमा चयन भएका थिए । अहिले मन्त्री बस्नेत नेकपा(एमाले)का केन्द्रीय सदस्य तथा गोरखा र मनाङ जिल्लाका इन्चार्ज समेत हुन ।