गोरखाखबर(गोरखा,७ बैशाख) । गोरखकाली, गोरखनाथ, मनकामना लगायतका मन्दिरहरु सहित धार्मिक स्थलहरुमा दैनिक नित्य पुजा बाहेक बैशाख मसान्त सम्मका लागि सबै पूजा गर्न रोक लगाएको छ । विश्वभर फैलिरहेको कोरोना महामारीको नयाँ भेरियन्टको संक्रमण जोखिम लाई मध्यनजर गर्दै धार्मिक स्थलमा पुजापाठ बन्द गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गोरखाले जनाएको छ । डिसिसिएमसीका अध्यक्ष समेत रहेका गोरखाका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलको अध्यक्षतामा मंगलवार बसेको कोभिड–१९ विपद व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै बैठकले जिल्लामा रहेका सिनेमा हल, पार्टी प्यालेस, नाँचघर, हेल्थक्लब, जिमखाना, फुटसल, सभा, आमसभा, हाटबजार, कभर्डहल र मानिसहरुको भिडभाड हुने सबैखाले २०७८ बैशाख मसान्त सम्म बन्द गर्ने निर्णय समेत गरेको छ । धार्मिक तथा साँस्कृतिक क्रियाकलापमा समेत स्वास्थ्य मापदण्ड अपनाएर २५ जना भन्दा बढी भेला हुन नपाउने पनि निर्णयमा उल्लेख छ ।