गोरखाखबर(गोरखा,२२ माघ) । सडक सञ्जाल नजोडिएको गोरखाको सबैभन्दा दुर्गम चुमनुब्री गाउँपालिका लागि बिहीवार हेलिकप्टर बाट कोरोना विरुद्धको खोप पठाइएको छ । स्वास्थ्य कार्यालय गोरखाले सिम्रिक एयर हेलिकप्टरबाट १ सय जना लाई पुग्ने १० भाइल कोरोना विरुद्धको खोप स्वास्थ्यकर्मी टोली सहित त्यस तर्फ पठाएको हो । भोली माघ २३ गते चुमनुब्री गाउँपालिका वडा नं २ को लि गाउँ , वडा नं ३ को फिलिम, वडा नं ६ को चुम्लीङका स्वास्थ्यचौकी ३ वटा खोप केन्द्र मार्फत स्वास्थ्यकर्मी, स्वयमसेविका, सरसफाइकर्मी र सुरक्षाकर्मी गरी ७० जना लाई खोप लगाइने स्वास्थ्य कार्यालय गोरखाका कोल्डचेन निरीक्षक ऋषिराम खत्रीले जानकारी दिए । जिल्ला कोभिड खोप समन्वय समितिको अनुरोधमा उक्त क्षेत्रमा कार्यरत माइन्टेन चाइल्ड नामका गैरसरकारी संस्थाले हेलिकप्टरको व्यवस्थापन गरिदिएको हो ।