गोरखाखबर(गोरखा,११ असोज) । खानेपानीको अभाव झेल्दै आएका मास्कीछापमा घर घरै धारा बने पछि अहिले स्थानीयमा खुशी छाएको छ । शहिद लखन गाउँपालिका वडा नं ५ मास्कीछापमा निर्माण भएको घाखोला लिफ्टीङ्ग खानेपानी आयोजनाको शनिवार एक कार्यक्रम बीच गण्डकी प्रदेशका भौत्तिक पूर्वाधार मन्त्री रामशरण बस्नेतले उद्घाटन गरे । कार्यक्रममा बोल्दै मन्त्री बस्नेतले आधारभूत खानेपानी सुनिश्चितता गर्ने प्रतिवद्धता अनुसार प्रदेश सरकारले एकघर एक धारा अभियान लाई तिब्रता दिएको बताए । पूर्णिमा परियोजनाको ५० लाख, गाउँपालिकाबाट ५ लाख र स्थानीयको ३३ लाख रुपियाँको जनश्रमदान समेत गरी कूल ८८ लाख रुपियाँ लागतमा सम्पन्न उक्त खानेपानी आयोजना निर्माण भएको हो । एकहजार ६ सय ५७ मिटर पाइप लाईन मार्फत १ सय १४ घरमा धारा पुगेको घाखोला खानेपानी आयोजनाका अध्यक्ष हुकमान थापाले जानकारी दिए ।