गोरखाखबर(गोरखा,८ असोज) । केन्द्र विवादका कारण रोकिएको गोरखाको गण्डकी गाउँपालिकाको गाउँसभा असोज १० गते हुने भएको छ । केन्द्रको टुङ्गो नलागेको अवस्थामा गत असार १६ गते प्रशासनिक भवन निर्माणका लागि बजेट विनियोजन गर्ने प्रस्तावमा सहमति हुन नसक्दा गाउँसभा हुन सकेको थिएन । केन्द्रको टुङ्गो लागे पछि खर्च गर्ने गरी प्रशासनिक भवन, वडा नं ६ र ८ को कार्यालय भवन निर्माणका लागि बजेट विनियोजन गरेर समपूरक कोषमा राख्ने गत भदौं २३ गते कार्यपालिकाको बैठकमा सहमति पछि गाउँसभा पनि गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ । समपूरक कोषमा प्रशासनिक भवन निर्माणका लागि २ करोड ५० लाख, वडा नं ६ को कार्यालय भवनका लागि ७० लाख र वडा नं ८ को भवनका लागि ६५ लाख रुपियाँ समपूरक कोषमा राखिने भएको छ ।स्थलगत रिर्पाेटिङ्ग पछि यस अनलाइनले “गण्डकी गाउँपालिकाको केन्द्र विवादको चेपुवामा गाउँसभा(विवादको नालीबेली) ”शीर्षकको समाचार गत भदौं २६ गते प्रकाशित गरेको थियो ।