गोरखाखबर(गोरखा,२२ साउन) । गोरखाको दरौंदी नदी तथा ज्यादुल, भुसुण्डे, विर्दी, सिर्दी, खार र लुदी खोला छेउछाउका फाँटहरु धान उत्पादनका हिसाबले निकै राम्रो मानिन्छ । तर साउन पहिलो साता मनसुन शुरु भए संगै यि नदी र खोलामा आएको बाढीले धेरै किसानको यसपाली धान उब्जनी गर्ने सपना बगाएको छ ।

मानो रोपेर मुरी फलाउन असारमा कोरोना भाइरस महामारीको जोखिमको समेत प्रवाह नगरी रोपेको धान खेतमा बाढी पसेर सखाप पारे पछि उनीहरु चिन्तामा परेका छन । रोपेर मल समेत हाली सकेको धान खेतीमा खारखोलामा आएको बाढी पसेर बगर बनाईदिएको खारखोला दोभानकी किसान संगिता अधिकारी बताउँछिन । दरौंदी नदीमा आएको बाढीले एकहजार ५ सय रोपनी र अरु खोलाहरुमा आएको बाढीले १ हजार रोपनी गरी जिल्लाभरी २ हजार ५ सय रोपनी भन्दा बढी धानखेतीमा क्षति भएको प्रारम्भीक तथ्याङ्क प्राप्त भएको कृषि ज्ञान केन्द्र गोरखाकी प्रमुख मनिता थापाले बताइन ।