गोरखामा थप ७ जनामा संक्रमण पुष्टि (उनीहरु गोरखा नपा, पालुङटार नपा र आरुघाटका हुन )


गोरखा खबर
  • बिहिबार, साउन २२ २०७७

  • गोरखाखबर(गोरखा,२२ साउन ) । गोरखामा बिहीवार थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पुष्टि भएकाहरुमा ५ पुरुष र २ महिला रहेका छन । उनीहरु गोरखा नगरपालिका , पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकाका रहेको स्वास्थ्य कार्यालय गोरखाका सुचना अधिकारी राजुरामण न्यौपानेले जानकारी दिए ।

    व्युटीपार्लर व्यवसायी एकमहिलामा कोरोना संक्रमण पुष्टि भए पछि कन्टयाक्ट ट्रेसिङका क्रममा छिमेकी गोरखा नगरपालिका वडा नं ९ लक्ष्मीबजारका ३२ वर्र्षीय महिला ,उनका १० वर्ष र ७ वर्षका छोरामा कोरोना रिर्पाेर्ट पोजेटिभ आएको गोरखा नगरपालिकाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले बताए । पालुङटार नगरपालिका वडा नं ६ का भारतीय सेनामा कार्यरत ३५ वर्षीय पुरुषमा पनि संक्रमण पुष्टि भएको छ । उनी छुट्टीमा आएर कमलटार स्थित रजगरे माविको क्वारेन्टाइनमा बसेका थिए । त्यस्तै साउदीबाट आएर ढुङ्गेटारीको मदनेडाँडा माविको क्वारेन्टाइनमा बसेका पालुङटार नगरपालिका वडा नं ९ का २४ वर्षीय पुरुष र भारतबाट आएर अकला मावि धुवाँकोटको क्वारेन्टाइनमा बसेकी पालुङटार वडा नं ८ की ३९ वर्षीय महिलामा कोरोना संक्रमण पुष्टि भएको र उनीहरु लाई सदरमुकाम स्थित गोरखा अस्पतालको आइसोलेसनमा लगिने पालुङटार नगरपालिकाका स्वास्थ्य सहायक दिपेन्द्र गिरीले जानकारी दिए । यसैगरी आरुघाट गाउँपालिका वडा नं ९ आरुघाटका ४६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । छुट्टीमा घर आएका भारतीय सेनामा कार्यरत उनी भीमोदय माविको क्वारेन्टाइनमा बसेका थिए । संक्रमण पुष्टि भए संगै उनका परिवार लाई पनि क्वारेन्टाइनमा राखिनुका साथै र उनलाई भीमोदय माविमा रहेको आइसोलेसनमा सारिएको आरुघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख विजय श्रेष्ठले बताए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार