गोरखाखबर(गोरखा,१ साउन) । विश्वव्यापी रुपमा देखा परेको कोभिड् –१९ का कारण शैक्षिक सत्रको शुरु देखि नै सबै विद्यालयहरु बन्द छन । तर गोरखा नगरपालिका वडा नं १० टक्सार स्थित मनकामना आवासीय बहिरा विद्यालयको प्राङ्गणमा स्पिकरमा गीत बजे संगै भेला भएर शारीरिक व्यायम र नाच्ने गर्छन । तर उनीहरु विद्यार्थी नभई भारत लगायत विभिन्न देशबाट आएर क्वारेन्टाइन बसेका व्यक्तिहरु हुन ।

स्वाब परीक्षण नहुन्जेल सम्मका अवधिभर क्वारेन्टाइनमा बसेकाहरु लाई रोग प्रतिरोधात्मक शक्ति बढाउन र मानसिक रुपमा ताजा बनाइ राख्न त्यहा खटेका सुरक्षाकर्मीले शारीरिक व्यायाम गराउनुका साथै स्पिकरमा गीत बजाएर नचाउने गरेको छ । । गोरखा नगरपालिकाले बनाएको यस क्वारेन्टाइनमा यस अघि १ सय १७ पुरुष र १९ जना महिला गरी १ सय ३६ जना बसेर गइसकेका छन । क्वारेन्टाइन आउनु अघि बस्न नपरोस जस्तोलागेको तर पछि क्वारेन्टाइनको वातावरण, नाँचगानका गतिविधि , स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले देखाएको व्यवहारले कोरोनाको डर नै बिर्सिएको त्यहाँ बसेकाहरुका भनाई छ ।एकसय शैयाको उक्त क्वारेन्टाइनको व्यवस्थापनका लागि नगरपालिकाका नायबसुब्बाको नेतृत्वमा २ जना स्वास्थ्यकर्मी लाई जिम्मेवारी दिनुका साथै सुरक्षा तर्फ नेपाली सेना र प्रहरी खटिएको गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले बताए । पोजिटिभ देखिएकाहरु लाई आइसोलेसन र नेगेटिभ देखिएकाहरु लाई अवधि पूरा गराएर घर पठाए पछि अहिले टक्सारमा रहेको मनकामना आवासीय बहिरा विद्यालयको क्वारेन्टाइनमा ११३ जना मात्र रहेका छन । । उनीहरु लाई इन्टरनेट वाइफाइको पनि व्यवस्था रहेको छ । क्वारेन्टाइनमा बसेकाहरु लाई शारीरिक व्यायाम, नाचगान, खानाखाजाको दैनिक समय तालिका निर्धारण गरिएको क्वारेन्टाइनमा खटिएकी स्वास्थ्य सहायक ज्योति श्रेष्ठले जानकारी दिइन ।