गोरखाखबर(गोरखा,३२जेठ) । मौसमको पूर्वानुमान कहाँ र कसले गर्छ ? यसको जवाफ पक्कै पनि जल तथा मौसम विज्ञान विभाग र मौसमविदले भन्ने नै आउँछ । तर गोरखाको नामरुङ देवी मन्दिरमा भने जमिनमा कुखुराको अण्डा गाडेर मौसमको पूर्वानुमान गर्ने गर्दछ । गोरखा नगरपालिका वडा नं ५ पस्लाङमा रहेको यो नामरुङ देवी मन्दिरमा वर्षेनी चण्डी पूर्णिमाको दिन विशेष पुजा हुने गर्दछ । भक्तजनले पुजा सामाग्री संगै चढाएको अण्डा जमिनमा गाडेर त्यसैको आधारमा मौसमको पूर्वानुमान गर्ने परम्परा छ ।
जमिनमा गाडेको अण्डा एकवर्ष पछि निकाल्दा नकुहिएमा त्यस वर्ष मौसम राम्रो हुने र बालीनाली सप्रने मन्दिरमा आएका दर्शनार्थी कृष्ण बहादुर रानाको भनाई छ । भक्तजनले ल्याएको पुजा सामाग्री सहित संकलन भएको अण्डाबाट २ वटा छानेर पुजारीले मन्दिरको जमिन मुनि गाड्ने गर्दछ । विशेष पुजा सहित गाडीएको उक्त अण्डा अर्काे वर्षको चण्डिपूर्णिमाकै दिन निकालिन्छ । यसरी जमिनबाट निकाल्दा कुनै वर्ष अण्डा सग्लै हुने त कुनै वर्ष अण्डाको अवशेष समेत नभेटिने गरेको छ । अण्डा राम्रो निस्कीएको वर्ष हावापानी पनि राम्रो हुने र नराम्रो निस्कीएको वर्ष मौसम पनि विग्रिने नामरुङदेवी मन्दिरका पुजारी युक्त रानामगरले बताए । मगरजातिका पुजारी रहेको गोरखाको यो नामरुङदेवी मन्दिरमा गाइवस्तुको स्वास्थ्य राम्रो होस् भनेर दाम्लो चढाउने पनि चलन छ ।