गोरखाखबर(गोरखा,२८ जेठ) । गोरखा नगरपालिकाले कोरोना नियन्त्रण, रोकथाम तथा व्यवस्थाका क्रममा भइरहेको आम्दानी तथा खर्च विवरण सार्वजनिक गरेको हो । नगरपालिकाका प्रमुख राजनराज पन्तले बुधवार पत्रकार सम्मेलनमा आम्दानी खर्चको विवरण सार्वजनिक गरेका हुन ।
पत्रकार सम्मेलनमा प्रमुख पन्तले प्रकोप व्यवस्थापन कोषमा १ करोड ८लाख ९० हजार ४ सय ८५ रुपियाँ आम्दानी भएकोमा ६२ लाख २५ हजार ६ सय ८५ रुपियाँ खर्च भई ४६ लाख ६४ हजार ८ सय रुपियाँ मौज्दात रहेको जानकारी दिए । गोरखा नगरपालिकाको प्रकोप व्यवस्थापन कोषमा आकस्मीक कोषको अ.ल्या., प्रदेश सरकार अनुदान, नगरपालिकाको विनियोजित बजेट, नगरपालिका कर्मचारी राहत कट्टी, शिक्षक, कर्मचारी, विभिन्न सामाजिक तथा वित्तिय संघ संस्था र व्यक्ति रकम जम्मा भएको आम्दानी विवरणमा उल्लेख छ । त्यस्तै खर्च विवरण तर्फ राहत विवरण, खाद्यान्न संस्थान लाई भुक्तानी, क्वारेन्टीनका लागि आवश्यक सामान खरिद तथा व्यवस्थापनका विभिन्न शीर्षक रहेको छ । सोही क्रममा कोरोना भाइरसको लागि विभिन्न स्वास्थ्य सामाग्री खरिद , खाद्य बैंकका लागि प्राप्त खाद्यान्न परिमाण, रकम प्रदान गर्ने संघसंस्था तथा व्यक्तिको विवरण र खर्च अवस्था पनि सार्वजनिक गरेको छ ।