गोरखाखबर(गोरखा,८ जेठ) । लकडाउनको अवधिमा साँझ ६ देखि बिहान ६ सम्म रातभर ढुवानी गर्न दिने निर्णय ३ दिन पछि फेरी उल्टीएको छ । गत जेठ ५ गते कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि गठित गोरखा जिल्ला स्तरीय कमाण्ड पोष्टले गरेको निर्णय व्यापक आलोचना भए पछि बिहीवार बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले निर्णय परिवर्तन गरेको हो ।
बिहीवारको सर्वदलीय तथा सर्वपक्षीय बैठकले खाद्यन्न जन्य सामग्री ग्यास,इन्धन दुग्ध जन्य पदार्थ, तरकारीको ढुवानी गर्न उद्योग बाणिज्य संघ र चेम्वर्स अफ कामर्सको सिफारिस,सम्बन्धित पालिकाको सिफारिस, सम्बन्धित ढुवानी विषयको तुल, व्यानर, सवारी साधनको कागजात, १/१ चालक र सहचालक गरी जम्मा २ जना सवार हुनुपर्ने र सुरक्षाको मापदण्ड पूर्ण पालना गर्नुपर्ने विहान ६ देखि विहान १० बजे सम्म ढुवानी गर्नुपर्ने निर्णय गरेको छ । साथै बैठकले जिल्ला भित्रका महत्वपूर्ण पाँच स्थान आरुघाट, घ्याल्चोक, मझुवा देउराली क्षेत्र, नयाँ पुल र तुरतुरेमा भएका मास क्वारेन्टाइन लाई थप व्यवस्थित गरी क्षमता विस्तार गर्ने र भारतमा अलपत्र परेका जिल्लावासी तथा जिल्ला वाहिर रहेका स्थानीयवासी एवं निजहरुको आफन्त औपचारिक तथा अनौपचारिक माध्यम प्रयोग गरी जिल्लाभित्र आएमा व्यक्तिगत रुपमा आएका हकमा जिल्ला प्रवेश गर्ने नाकामै नाका रहेको सम्बन्धित पालिकाले क्वारेन्टाइनमा राख्ने र परीक्षण गर्ने निर्णय पनि गरेको छ ।