गोरखाखबर(गोरखा,३१ बैशाख) । गोरखा जिल्लामा भोली(जेठ १) देखि लकडाउनमा कडाई हुने भएको छ । कोरोना रोकथाम ,नियन्त्रण तथा व्यवस्थापन सम्वन्धी जिल्ला स्तरीय कमाण्डपोष्ट सहितको बुधवार बसेको सर्वपक्षीय बैठकले देशका विभिन्न ठाउँमा बढ्दै गएको कोरोना भाइरसको जोखिम लाई मध्यनजर गर्दै जेठ ५ गते सम्म लकडाउन कडाई गर्ने निर्णय गरेको हो ।

बैठकले बैंक, वित्तीय संस्था, विमा एवं सहकारीहरु र खाद्यान्न ढुवानी सहित सबै सवारी साधन बन्द गर्ने निर्णय गरेको छ । तर तत्काल उपचार आवश्यक परेको भनि स्वीकृत चिकित्सकबाट रिफर भएको विरामी बोकेको एम्वुलेन्स, दुर्घटनामा परि तत्काल उपचार आवश्यक परेको घाइते बोकेको सवारी साधन, लास एवं मलामी ,कृयापुत्रि सवार सवारी साधन,सुरक्षाकर्मी सुरक्षा अधिकारी जिल्लामा कार्यरत स्वास्थ्यकर्मी,प्रेस पास भएको संचारकर्मी तथा वडाध्यक्ष वा सो भन्दा माथिका जनप्रतिनिधि वा सवारी साधन भने चल्ने निर्णयमा उल्लेख छ । त्यस्तै खाद्यान्न, तरकारी, पशुपंक्षीका दाना, औषधि, उपकरण तथा माछामासुका पसल बाहेक अन्य पसल बन्द गर्ने निर्णय पनि गरेको छ ।