गोरखाखबर(गोरखा,६ बैशाख) ।वर्षा संगै शुक्रवार साँझ आएको हावाहुरीले गोरखा पालुङटारको च्याङलीमा ५३ घरको छानो उडाएको छ । हावाहुरीले पालुङटार नगरपालिका वडा नं ७ च्याङलीको मजुवा, विरुवाटार, बुढीकुवा, आलेगरा र कोटगाउँका २० भन्दा बढी व्यक्तिको घर बस्नै नमिल्ने गरी क्षति पुगेको पालुङटार वडा नं ७ का वडाध्यक्ष वसन्त कुमार श्रेष्ठले जानकारी दिए ।

छानो उडाए पछि घर भित्र रहेको लत्ताकपडा तथा अन्नपात समेत पानीले भिजेर उनीहहरुले आफन्त र छिमेकीको घरमा रात बिताएका थिए । वडाध्यक्ष श्रेष्ठका अनुसार हावाहुरी स्वास्थ्य चौकीको पनि छानो उडाउनुका साथै १ करोड रुपियाँ भन्दा बढीको केरा र लिची खेती नष्ट भएको छ । लकडाउनको अवस्थामा हावाहुरीले छानो विहीन बनाएका घर परिवारको पूर्ण लगत संकलन गर्ने काम भइरहेको र तत्कालका लागि त्रिपाल भाडाकुरा लगायतका राहत दिइने पालुङटार नगरपालिका प्रमुख दिपकबावु कँडेलले बताए ।