गोरखाखबर(गोरखा,२६ पुस) । सहकारी संस्थाहरुको छाता संस्था जिल्ला सहकारी संघ गोरखा स्थापनाको २५ वर्ष पुरा भएको छ । जिल्ला सहकारी संघ गोरखाको रजत जयन्ती तथा २६ ओं साधारणसभा शनिवार सदरमुकाम सम्पन्न भएको छ । साधारणसभाको गण्डकी प्रदेशका भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले उद्घाटन गरे । साथै रजत वर्षको अवसरमा संघले प्रकाशन गरेको स्मारिकाको मन्त्री थापा र राष्ट्रिय सहकारी बिकास बोर्डका सदस्य सचिव चक्र बहादुर पराजुलीले संयुक्त रुपमा विमोचन गरे ।

जिल्ला सहकारी संघ गोरखाका अध्यक्ष बावुराम कोइरालाको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय सहकारी बिकास बोर्डका सदस्य सचिव चक्र बहादुर पराजुली, रजत वर्ष स्मारिक प्रकाशन समितिका संयोजक हरिराम अधिकारी ,जिल्ला सहकारी संघका सल्लाहकार गोबर्धन आचार्य, संघ गोरखाका पूर्व अध्यक्ष बावुराम अर्याल, सहकारी महासंघका पूर्व सञ्चालक गोविन्द बराकोटी लगायतले बोलेका थिए । साधारणसभामा अध्यक्ष वार्षिक प्रगति प्रतिवेदन र लेखा समितिका संयोजक सरोज देवकोटाले लेखा परिक्षण प्रतिवेदन पेश गरेका थिए । रजत वर्षको अवसरमा संघले सहकारी अभियानमा योगदान गर्ने विभिन्न व्यक्तिहरु लाई सम्मान समेत गरेको छ ।