गोरखाखबर(गोरखा,१८ पुस) । गोरखा देखि काठमाण्डौं सम्मको एकीकरण पदमार्गको प्रर्बधन गर्ने उद्देश्यले नेपाली सेनाले पदयात्रा शुरु गरेको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरेर पृथ्वीजयन्तीको अवसरमा नेपाल एकीकरणका क्रममा पृथ्वीनारायण शाह गोरखा देखि काठमाण्डौ पुगेको मार्गमा सेनाले पदयात्रा गरेको हो ।

पदयात्रामा नेपालको झण्डा,पृथ्वीनारायण शाहको पालाका सेना ५ कम्पनी श्रीनाथ, कालीबक्स, सबुज, पुरानो गोरख र बर्द बहादुर झण्डा सहित सैनिक ब्याण्ड र गुरुज्यूको पल्टन पनि सहभागी छन। गोरखा दरबारमा शुक्रवार आयोजित एक कार्यक्रम बीच नेपाली सेना पश्चिम पृतनापति उपरथि गोकुल भण्डारी र गोरखा नगरपालिकाका मेयर राजनराज पन्तले पदयात्रामा सहभागी सेनाको टोलीलाई मशाल र झण्डा हस्तान्तरण गरेर शुरु गरे । गोरखाबाट हिडेको नेपाली सेनाको रणसिंह दल गणले धादिङ स्थित सेनाको देविदत्त गण लाई र देविदत्त गणले नुवाकोटमा रहेको जबरजंग गण लाई पदयात्रा हस्तान्तरण गर्नेछ । गोरखा धादिङ , नुवाकोट हुदै काठमाण्डौं सम्मको करिब १ सय १० किमि पदयात्रा पूरा गरेर टोली पुस २७ गते काठमाण्डौंमा आयोजना हुने पृथ्वीजयन्तीको कार्यक्रममा सहभागी हुने नेपाली सेना पश्चिम पृतनापति उपरथि गोकुल भण्डारीले जानकारी दिए ।