गोरखाखबर(गोरखा,१६ मंसिर) । बुढीगण्डकी जलविद्युत आयोजनाको मुआब्जा निर्धारण गर्न बाँकी क्षेत्रको पनि मुआब्जा निर्धारण भएको छ । गोरखाको आरुघाट ,आर्खेत र धादिङको विशालनगर, खहरे लगायतको क्षेत्रको मुआब्जा निर्धारण गरेको हो ।बुढीगण्डकी आयोजनाको डुवान क्षेत्रमा पर्ने आरुघाटलगायतका बजार क्षेत्रको मुआब्जा निर्धारण भएको छ । अन्य क्षेत्रको मुआब्जा निर्धारण भएको तीन बर्षपछि बजार क्षेत्रको मुआब्जा आइतबार राति निर्धारण गरिएको हो । राति अबेरसम्म बसेको जिल्ला मुआब्जा निर्धारण समिति गोरखाको बैठकले निर्धारण गरेको हो ।

डुवानमा पर्ने गोरखाको आरुघाट क्षेत्रको जग्गालाई १० र आर्खेतको जग्गालाई २ समूहमा बर्गीकरण गरेर प्रतिआना ५० हजार देखि ७ लाख रुपैयाँसम्म मुआब्जा निर्धारण गरिएको बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा, पुनर्बास तथा पुनस्थापना इकाइका संयोजक कृष्णबहादुर कार्कीले जानकारी दिए । मुआब्जाको दर सार्वजनिक भए संगै सुकुम्वासी बनाउने षडयन्त्रका साथ परामर्श नै नगरी जबरजस्ती मुआब्जा निर्धारण गरेको आरुघाटका स्थानीयहरु आन्दोलनमा उत्रिएका छन । उनीहरुले सोमवार आरुघाट टायर बालेर विरोध गर्नुका साथै साँझ मशाल जुलुश समेत निकालेका छन ।
यस्तो छ निर्धारण भएको मुआब्जाको प्रकार :
आरुघाटतर्फ मुख्य सडकको पुरानो बजार पस्ने मोटरबाटोदेखि प्रहरी चौकी हुदै बुढीगण्डकी पक्की पुल जाने चोकसम्मको दायाँवायाँ घडेरी तथा जग्गाको मुआब्जा प्रति आना ७ लाख रुपैयाँ तोकिएको छ । त्यस्तै अकला चोकदेखि १४० मिटर उत्तर जाने सडकको दायाँवायाँको घडेरीले पनि प्रति आना ७ लाख रुपैयाँ मुआब्जा रकम पाउने भएको छ ।
बुढीगण्डकी पक्की पुल जाने चोकदेखि पुलचोक, हाकिमचोक, क्याम्पसचोक हुदै अस्पताल चोक र बुढीगण्डकी पुल जाने चोकदेखि बुढीगण्डकी पक्की पुलसम्मको मुख्य सडकका दायाँवायाँ घडेरी र जग्गाको प्रति आना ६ लाख ५० हजार रकम निर्धारण गरिएको छ ।
निर्धारण गरिएको मुआब्जा रकम प्रति असन्तुष्टी जनाउदै आरुघाटवासी आन्दोलनमा उत्रिएका छन् । आरुघाट बजारसमेत बन्द गरेका उनीहरुले चोकमा टायर बालेका छन् ।
मध्य पहाडी लोकमार्गको पक्की पुल ९स्तुल खोलाको पुल० देखि भन्ज्याङ हुदै प्रहरी चौकी सम्मको दायाँवायाँका घडेरीको मुआब्जा प्रति आना ६ लाख रुपैयाँ तोकिएको छ । फिल्महल देखि विद्युत चोकसम्मका दायाँवायाँका घडेरी र जग्गाले प्रति आना ६ लाख रुपैयाँ पाउने भएका छन् ।
अस्पताल चोकदेखि चापपानी खोलासम्म मुख्य सडकको दायाँवायाँका घडेरी र जग्गाको प्रति आना ३ लाख रकम तोकिएको छ । विद्युत चोकको पछाडिपट्टीको टोलदेखि कार्की चोकसम्मको मोटर जाने सडकका दायाँवायाँका घडेरी र जग्गाको प्रति आना ५ लाख ५० हजार रुपैयाँ तोकिएको इकाइले जनाएको छ ।
अकला अन्नपूर्ण चोकको १४० मिटर उत्तरको विन्दुबाट बुढीगण्डकी पक्की पुलजाने बाटो सम्मको सडक र हस्पिटलचोक बाट बुढीगण्डकी पक्की पुलतर्फ आउने खोला किनार छेउको बाटोको दायाँवायाँको घडेरी तथा जग्गाहरुको प्रति आना ४ लाख ५० हजार निर्धारण भएको छ ।
अन्य शाखा बाटोको दायाँ बायाँको घडेरी तथा जग्गाहरुले प्रति आना ४ लाख रुपैयाँ पाउने छन् । कित्ता नापी नक्सामा गोरेटो बाटो भएको गोरेटो बाटोको दायाँ वायाँका जग्गाहरुले भने प्रति आना २ लाख पाउने भएका छन् । आरुघाट बजारको मुख्य सडकको ६० फिट पछिका थप ६० फिटपछि रहेका घडेरी तथा जग्गाहरुको प्रति आना २ लाख ५० हजार र त्योबाहेकका ६० फिटपछिका जग्गाहरुको प्रति आना ५० हजार रुपैयाँ तोकिएको इकाइले जनाएको छ ।
आर्खेत बजारमा मोटरवाटो दायावायाका घडेरी र घर भएका जग्गाहरुको प्रति आना १ लाख २० हजार मुआब्जा निर्धारण गरिएको छ । आर्खेत बजार क्षेत्रका अन्य डुवानमा पर्ने जग्गाहरुले प्रति आना ५० हजार रुपैयाँ पाउने बताइएको छ ।
सम्पूर्ण घर जग्गा अधिग्रहणमा परी विस्थापित हुने र अन्यत्र कहिँ कतै घरजग्गा नभएका विस्थापितहरु, २।५ आना सम्म जग्गा हुने र २।५ आना देखि ५ आनासम्म मात्र जग्गा हुने परिवारले मुआब्जामा क्रमश १५ र १० प्रतिशत थप गरी मुआब्जा रकम वितरण गर्ने निर्णय मुआब्जा निर्धारण समितिले गरको छ ।