गोरखाखबर(गोरखा,२४ कात्तिक) । नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले गोरखा दरबारको पुननिर्माण र बुढीगण्डकी जलविद्युत आयोजना बारे बोलेको छ । गोरखा सदरमुकाममा अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा बसेको नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको बैठक पछि शनिवार जारी गरेको २१ बुँदे घोषणापत्रमा सो कुरा उल्लेख छ ।

राष्ट्रिय गौरवको जलाशययुक्त १२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाका सबै प्रक्रिया पूरा गरी निर्माण कार्य तत्काल शुरु गर्न र ऐतिहासिक, पुरातात्विक एवम् साँस्कृतिक महत्त्वको गोरखा दरवारको पुनर्निर्माण कार्य सुस्त गतिमा भइरहेकोतर्फ सरकारको ध्यानाकर्षण गराउँदै अविलम्ब पुनर्निर्माण सम्पन्न गर्न माग गरेको छ । त्यस्तै घोषणापत्रमा नेपाल पत्रकार महासंघको सहमतिमा प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिता, (पहिलो संशोधन २०७६) लाई अक्षरशः पालना गर्ने गराउने प्रतिबद्धता जाहेर गरेको छ । त्यस्तै श्रमजीवी पत्रकारको हकहित र अधिकारका लागि पत्रकार महासंघको अगुवाइमा बृहद सञ्चार आन्दोलन गरिने पनि निर्णय गरेको छ । बैकठले प्रेस स्वतन्त्रता, पत्रकार सुरक्षा, श्रमजीवी पत्रकार ऐन कार्यान्वयन, पत्रकार आचारसंहिता पालना र पत्रकार महासंघको शुद्धिकरण र सुदृढीकरणका लागि अध्यक्षको नेतृत्वमा आगामी माघ महिनामा सातवटै प्रदेशमा विशेष केन्द्रीय अभियान (मिसन) सञ्चालन गरिने पनि उल्लेख छ ।