गोरखाखबर(गोरखा,१६ असोज) । दौडेर राजा छान्ने लिगलिगकोटको प्रजातान्त्रिक प्रचलनको स्मरणमा आयोजना हुदै लिगलिगे दौडको १० औं संस्करण बिहीवार सम्पन्न भयो । सम्पन्न भएको १० वटा प्रतियोगिता मध्ये ४ पटकको उपाधि बिजेता बनेका अनिष थापामगर । पालुङटार नगरपालिका,नेपाली सेनाका रणसिंह दल गण र लिगलिग विकास अभियानले आयोजना गरेको १० औं लिगलिगे दौडको उपाधि भारतीय सेनामा कार्यरत पर्वतका अनिष थापामगरले जितेका हुन । चेपेघाटबाट गोरखाको लिगलिगकोट सम्म १३ दशमलव ८ किलोमिटर दुरी ५७ मिनेट ५५ सेकेण्डमा पूरा गरेका थिए ।
उनी यस अघि भएका ५औं, ७ औं र ९ औं लिगलिगे दौड प्रतियोगिताका उपाधि बिजेता हुन । उपाधिको जित संगै थापामगरले श्रीपेच, ६० हजार एकसय नगद पुरस्कार सहित ट्रफी मेडल र प्रमाणपत्र हात पारेका छन । उनलाई राष्ट्रियसभाका प्रमुख विपक्षी दलका नेता सुरेन्द्रराज पाण्डेले श्रीपेच लगाई मेडल तथा प्रमाणपत्र प्रदान गर्नुभयो । त्यस्तै १ घण्टा १ मिनेट ८ सेकेण्डमा दुरी पुरा गरेर खगेन्द्र बहादुर भाट दोस्रो भए भने १ घण्टा १ मिनेट ३४ सेकेण्डमा दुरी पुरा गरेर रामजी बस्नेत तेस्रो भए । दोस्रो हुने भाटले ३५ हजार १ सय र तेस्रो हुने बस्नेतले २५ हजार १ सय नगद सहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन । पुरुष खुल्ला तर्फको दौडमा ८४ जना धावकहरु सहभागी थिए । त्यस्तै महिला तर्फ बड्डाँडा देखि ५ लिगलिगकोट सम्मको किलोमिटरको दुरीमा ४२ मिनेट ६ सेकेण्डमा पूरा गर्दै हुमी बुढामगर प्रथम भएकी छिन । ४० वर्ष माथीका भेट्रानमा दामोदर बुढामगरले ३६ मिनेट २८ सेकेण्डमा पूरा गरेर प्रथम भएका छन । लिगलिगवासीका लागि चेपेघाट देखि लिगलिगकोट सम्म १३ दशमलव ८ किमि दुरीकै दौडमा सिरानचोक –३ का सन्दिप ढकालले १ घण्टा २ मिनेट २२ सेकेण्डमा दुरी पार गरेर प्रथम भएका छन ।