गोरखाखबर(गोरखा,४चैत) । उचित र छिटो मुआब्जा निर्धारणको माग गर्दै बुढीगण्डकी जलविद्युत आयोजनाका प्रभावितले सोमवार गोरखाको आरुघाट र धादिङ्गको विशालनगर बजार बन्द आह्वान गरेका छन ।

तस्वीर सौजन्य: धर्मेन्द्र श्रेष्ठ
बुढीगण्डकी सरोकार समितिको अगुवाईमा गरेको बन्दका कारण लामो तथा छोटो दुरीका कुनै पनि सवारी साधन चलेको छैन भने बजारका पसल र कार्यालयहरु सबै बन्द रहेको छ । गोरखा जिल्लाका प्रमुख व्यापारिक केन्द्र मध्येका एक आरुघाट बजारको जग्गा आयोजनाका कारण ३ वर्ष देखि किनबेच सरकारले रोकेता पनि अझै मुआब्जा निर्धारण भएको छैन । किनबेच बन्द गरेको ३ वर्ष भइसक्दा पनि मुआब्जा नतोकिएको तर संरचनाको मूल्य गर्नका लागि टोली खटाएर आफू लाई आयोजनाले सुकुम्वासी बनाउने षडयन्त्र थालेको भन्दै स्थानीय आन्दोलित भएका हुन् । १२ सय मेघावाट बढीगण्डकी जलविद्युत आयोजना निर्माणका लागि गोरखा र धादिङ्ग जिल्लाको गरी ५८ हजार रोपनी जग्गा अधिग्रहण गरेको छ । त्यस्तै आयोजना निर्माण हुदा ३ हजार ५ सय ६० घरधुरी विस्थापित हुनुका साथै ८ हजार एकसय १७ घरधुरी प्रभावित हुनेछ ।