गोरखाखबर(गोरखा,२४पुस)।जीवनमा एकपटक पोखरामा गरेको प्याराग्लाइडिङ्ग बाट उत्साहित बनेका गोरखा आरुघाटका एक बहादुर आलेले प्याराग्लाइडर नै बनाएर उडाएका छन । नेपाली सेनाको सिंहनाथ गणको जमदार पदबाट २०५५ सालमा अवकास पाए पछि आरुघाट बजारमा फोटो स्टुडियो र तुल, व्यानर लेखन व्यवसाय गर्दै आएका ५८ वर्षीय स्थानीय एक बहादुर आले पेशाले प्याराग्याइडिङ्ग उडाउने पाइलट भने होइनन ।तर पोखराको सराङ्गकोटमा एकपटक चढेका आलेले प्याराग्लाइडर नै बनाएर उडाएका हुन ।
स्याङजा स्थित बावु एड्भेन्चर प्याराग्लाइडिङ्ग स्कुलबाट १५ दिने पाइलट तालिम पनि लिइसकेको एक बहादुर आलेले बताए ।नजानेको कुरा युटियुब र गुगलमा खोज्दै आलेले प्यारासुटका कपडा ,नाइलनका डोरी र विभिन्न कब्जाहरुको प्रयोगबाट पहिलोपटक ८ किलो तौलको प्याराग्लाइडर बनाएका हुन ।
उनले प्लाराग्लाइडिङ्ग गर्दा दुर्घटनाबाट बच्न सक्ने प्यारासुट सहितको आपतकालिन व्याग समेत तयार गरेका छन । बनाएको प्याराग्लाइडरको उडानको सफलताबाट उत्साहित उनले थप सुधार सहित अर्काे प्याराग्लाइडर पनि बनाएको स्थानीयको भनाई छ । प्याराग्लाइडर बनाएका आले भन्छन्–“मैले ग्लाइडर त बनाए । अव यसको प्राविधिक जाँच र मान्यताका लागि मैले सरकार सम्वद्ध निकाय संग ठूलो आशा लिएको छु । ”