गोरखाखबर(काठमाण्डौं, २९ असार) । नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त भएका छन्। नवनियुक्त प्रधानमन्त्री देउवाले मङ्गलवार साँझ राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन ।देउवा सबैभन्दा पहिले २०५२ सालमा प्रधानमन्त्री बनेका थिए।दोस्रो पटक उनी २०५८ सालमा प्रधानमन्त्री बनेका थिए भने त्यसै वर्ष राजा ज्ञानेन्द्रले उनलाई पदबाट हटाए।२०६१ साल जेठमा राजा ज्ञानेन्द्रले देउवालाई प्रधानमन्त्रीमा पुनर्स्थापित गरे।तर फेरि ज्ञानेन्द्रले २०६१ साल माघ १९ मा सत्ता आफ्नै हातमा लिँदै देउवालाई हटाएका थिए।नेपालमा गणतन्त्र स्थापनापश्चात् देउवा २०७४ सालमा पुन चौथो पटक प्रधानमन्त्री बनेका थिए। मङ्गलवारै प्रधानमन्त्री देउवाले कांग्रेसबाट बालकृष्ण खाँड लाई गृह र ज्ञानेन्द्रबहादुर कार्की लाई कानुन, न्याय तथा संसदीय व्यवस्था तथा नेकपा माओवादी केन्द्रबाट जनार्दन शर्मा लाई अर्थ र पम्फा भुसाल लाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा नियुक्त गरेका छन । नवनियुक्त ४ जना मन्त्रीले पनि मंगलवार नै पद तथा गोपनीयतको शपथ लिएका छन ।