गोरखाखबर(गोरखा,२६ असार) । गोरखा जिल्ला भित्र स्वास्थ्य र सुरक्षाको मापदण्ड पुरा गरी सार्वजानिक यातायात सञ्चालन गर्ने निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलको अध्यक्षतामा बसेको कोरोना भाइरसको रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गठित गोरखा जिल्ला स्तरिय कमाण्ड पोष्टको बैठकले चालक सहित सवारी साधनको सिट क्षमताको बढीमा ५० प्रतिशत यात्रु रहने गरी सवारी साधन सञ्चालनको निर्णय गरेको हो ।

जसअनुसार यात्रुबाहक सवारी साधनको एक पंत्तिको सिटमा सामाजिक दुरी कायम हुने गरी १ जना मात्रै राख्नुपर्नेछ, सवै यात्रुले अनिवार्य रुपमा मास्क प्रयोग गर्नुपर्ने, सवारी साधनमा यात्रु चढ्ने समयमा सवारी साधनको ढोकामा र सवारी साधनभित्र स्यानिटाइजरको व्यवस्था गर्नुपर्ने, चालक र सहचालकले अनिवार्य रुपमा मास्क, भाइजर र पन्जा लगाउनु पर्ने र सवारी साधनलाई दैनिक रुपमा डिसइन्फेक्सन गर्नुपर्ने लगायतका स्वास्थ्य सुरक्षाका मापदण्डहरु पालना गरेर जिल्लाभित्र मात्र यात्रुबाहक सवारी साधन संचालन गर्न पाइने निर्णय भएको छ । तर यातायत व्यवसायीको भने अहिलेकै अवस्थामा यो शर्त बमोजिम यातायत सञ्चालन गर्न नसकिने तर्क छ । ट्याक्सी बाहेकका अन्य सवारी साधनको हकमा तोकिएको भाडा दरको पचास प्रतिशतसम्म थप भाडा लिन पाउने व्यवस्था गरिएको छ । निजि सवारी साधनमा भने जोरबिजोर प्रणाली लागु गरिएको छ । ट्याक्सी र निजि सवारी साधनमा भने चालक बाहेक २ जना मात्र चढ्न पाउने निर्णय गरेको छ ।