गोरखाखबर(गोरखा,२१ बैशाख) । रिपोर्टर विदआउट बोर्डर (आरएसएफ) ले प्रकाशित गरेको प्रेस स्वतन्त्रता इन्डेक्स २०२० मा नेपालको स्थान गत वर्षको तुलनामा ६ स्थान खस्किएर १८० राष्ट्रहरुमध्ये ११२ औं स्थानमा रहेको छ । आरएसएफले पनि सञ्चारसम्बन्धी प्रस्तावित कानूनहरु र सरकारका प्रतिनिधिहरुले प्रेसका बारेमा गर्ने टिप्पणीहरुलाई नै आधार मानी यस वर्ष नेपालको स्थान खस्किएको जनाएको छ ।

नेपाल पत्रकार महासंघ सञ्चार अनुगमन इकाईमा २०७६ सालमा प्रेस स्वतन्त्रता हननका ६० वटा घटना अभिलेख भएका छन् । यसवाट ९४ पत्रकार तथा ३ संचार संस्था गरी ९७ पीडित बनेका छन् । अभिलेख अनुसार पत्रकार गिरफ्तारका ८ वटा घटना भएका छन् । त्यस्तै स्वतन्त्र पत्रकारितामा अवरोध तथा कब्जाका ३ वटा घटना भएका छन् । पत्रकारमाथि आक्रमणका १३ वटा घटना भएका छन भने दुव्र्यवहार तथा धम्कीका ३२ वटा घटना भएका छन् । पत्रकार पेशाबाट विस्थापनको १ र पेशागत असुरक्षाका ३ वटा घटना भएका छन् । गत बर्ष पनि प्रेस स्वतन्तत्रा हननका ६० वटा घटना भएका थिए । यी ६० घटनामा ७७ जना पत्रकार र ५ ससञ्चार संस्था पीडित भए । तर यस वर्ष पीडित हुने पत्रकारको संख्या गत वर्षभन्दा १७ जना बढी छन् । त्यस्तै विश्व प्रेस स्वतन्त्रता दिवस २०२०को अवसरमा नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले एक प्रेस विज्ञप्ती प्रकाशित गरेर राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, पत्रकारको अधिकार र संचार माध्यमको हितका पक्षमा दृढतापूर्वक उभिई पत्रकारिताको विकासका साथै नेपाल र नेपाली जनताको हितमा काम गर्न हामी सबैलाई प्रेरणा मिलोस्, भन्ने शुभकामना व्यक्त गरेका छन ।