गोरखाखबर(गोरखा,२९ कात्तिक) । भूकम्प पछिको पुननिर्माण हेर्न गोरखाका ८ स्थानीय तहका जनप्रतिनिधि भारतको गुजरातको भुज पुगेका छन । भारत सरकारको सहयोगमा युनएनडिपीको समन्वयमा सञ्चालित नेपाल आवास पुननिर्माण परियोजनाले गोरखाका २ नगरपालिका र ६ गाउँपालिका प्रमुख तथा उपप्रमुखका लागि पुननिर्माण सिकाई तथा अनुभव आदानप्रदानका यो भ्रमणका लागि आयोजना गरेको हो ।

गत कात्तिक २६ देखि शुरु भएको ६ दिने अवलोकन भ्रमण टोलीमा गोरखा नगरपालिका, पालुङटार नगरपालिका, गण्डकी, शहिद लखन , आरुघाट, धार्चे ,सिरानचोक र अजिरकोट गाउँपालिकाका प्रमुख र उपप्रमुख , नेपाल पत्रकार महासंघ गोरखाका अध्यक्ष किशोरजंग थापा र परियोजनाका कर्मचारीहरु समेत सहभागी रहेका छन । सन् २००१ को भूकम्प प्रभावित भारतको गुजरात स्थित भुज र भूकम्पको केन्द्रविन्दु जिल्ला गोरखा पनि भएकोले एकआपसमा अनुभव आदान प्रदान र सिकाई हुने उद्देश्यका साथ भ्रमणको आयोजना गरिएको नेपाल आवास पुननिर्माण परियोजनाका सामाजिक विज्ञ घनश्याम खतिवडाले बताए । भूकम्प गएको ३ वर्ष पछि २०७४ चैत बाट भएको यो परियोजनाका लागि एकसय ५७ जना कर्मचारी कार्यरत छन । सामाजिक तथा प्राविधिक सहजीकरण गर्ने नेपाल आवास पुननिर्माण परियोजनाले गोरखामा जिल्ला २६ हजार ९ सय १२ घर लाई मात्र समेटेको छ ।